शुभकामना सहकारीको ऐतिहासिक पृष्ठभूमि

17 Jun

शुभकामना सहकारीको ऐतिहासिक पृष्ठभूमि

दुलेगौंडा र खैरेनीटार क्षेत्र तनहुँ जिल्लाको निर्वाचन क्षेत्र नं ३ अन्तर्गत रहेका अन्य स्थानहरू भन्दा सुबिधायुक्त र बिकसित स्थानहरू हुन् । यस क्षेत्र आर्थिक, ब्यापारिक र शैक्षिक हिसाबले हेर्दा उत्तर र दक्षिण तर्फका गा.वि.स. हरू थप्रेक, मनपाङ्, छाङ्, भिमाद, ढोरफिर्दि, भानुमती, मग्याम चिसापानी, किचनास सम्मको मुख्य केन्द्र बिन्दुको रूपमा विकास हुँदै आएको देखिन्छ । यस्तो आर्थिक, ब्यापारिक र शैक्षिक केन्द्रलाई अझ बढी सुविधायुक्त र गतिशील बनाउनको लागि वित्तीय संस्थाहरूको अहम् भुमिका रहने गर्दछ । यिनै कुराहरूलाई मध्यनजर गर्दै २०६३ साल आश्वीन महिनाको तेश्रो हप्तामा दुलेगौंडामा एउटा वित्तीय संस्था खोल्ने चर्चा भयो । तात्कालीन समयमा यस क्षेत्रमा एउटा मात्र सहकारी संस्था वित्तीय संस्थाको रूपमा सञ्चालित थियो । उउटा मात्र सहकारी संस्थाले यस क्षेत्रको वित्तीय आवश्यकतालाई थेग्न नसक्ने महशुस गर्दै अर्को वित्तीय संस्था खोल्ने निधो गरियो । त्यसका लागि डिल्लीराम रिमाल, ज्ञानप्रसाद भण्डारी, भरत बहादुर खड्का, सूर्यबहादुर बानियाँ लगायतका साथीहरूको सक्रियतामा दुलेगौंडा, खैरेनीटार र ढोरफिर्दि क्षेत्रका प्रतिष्ठित ब्यक्तिहरू, बुद्धिजीवी, शिक्षक, कर्मचारी, उद्योगी र ब्यपारीहरूको नामावली संकलन गर्ने काम भयो । उक्त नामावली संकलन गर्ने क्रममा संस्थामा आबद्ध हुन चाहनेहरूको सँख्या पनि ज्यादै राम्रो देखियो । यसको फलस्वरूप संस्था स्थापनाको लागि २०६३ साल कार्तिक महिनाको १९ गते ज्ञान प्रसाद भण्डारीको घरमा भेलाको आयोजना गरियो । उक्त भेलामा संस्थाको तदर्थ समिति गठन गर्ने, संस्थाको लोगो निर्माण गर्ने, संस्थाको नामाकरण गर्ने र संस्था दर्ताको प्रक्रिया तत्काल अघि बढाउने जस्ता बिषयहरूमा ब्यापक छलफल गरियो । सोहि भेलाद्धारा तदर्थ समितिको अध्यक्षमा खेमराज खनालको नाम सर्वसम्मतीले स्वीकृत गरी ९ सदस्यीय तदर्थ समिति तत्काल गठन गरियो, लोगो निर्माण गर्ने जिम्मा गायत्रीप्रसाद पौडेल र भरत बहादुर खड्कालाई जिम्मा दिईयो भने नामाकनको बिषयमा बिभिन्न नामहरू प्रस्ताव गरिए । कसैले “ढोरबाराही”, कसैले
“मुक्तिनाथ”, कसैले शुक्लागण्डकी नामहरू प्रस्ताव गरे भने मैले पनि “शुभकामना” भन्ने नाम प्रस्ताव गरें । अन्त्यमा हामीहरूले प्रस्ताव गरेका नामहरू उपर छलफल हुँदा मैले प्रस्ताव गरेको नाम “शुभकामना” लाई सबको तर्फबाट सर्वसम्मतिले स्वीकृत गरी नामाकरण गरियो र हाल सम्म पनि सोहि नामबाट संस्थाका गतिबिधि र कारोबारहरू अगाडि बढिरहेको छ । अझ बढी शसक्त रूपमा संस्थाको नाम जस्तै काम गर्ने गरी संस्था निरन्तर रूपमा अघि बढिरहेको छ र बढिरहने छ ।

जय सहकारी !

पूर्ण बहादुर थापा

Write a Reply or Comment