प्रमुखहरुको सन्देश

ऋषि बहादुर बस्नेत
अध्यक्ष
शुभकामना बहुउद्देश्यीय सहकारी संस्था लि.

यस श्री शुभकामना वहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो स्थापनाको १० बर्ष पूरा गरी ११ औं वर्ष प्रवेशको उपलक्ष्यमा विमोचन गर्ने गरी संस्था स्थापनाकालदेखि हाल सम्मका महत्वपूर्ण गतिविधिहरूको वारेमा जानकारी गराउने उद्देश्य अनुरूप साधारण सभाको निर्णय मार्फत नै स्मारिका प्रकाशन गर्ने जमर्को गरेको छ । यसैअनुरूप नै संस्थाका संस्थापक तथा निवर्तमान अध्यक्ष श्री खेमराज खनालको संयोजकत्वमा ५ सदस्यीय स्मारिका प्रकाशन उप–समिति गठन हो ।
तनहुँ शुक्ला गण्डकी नगरपालिका वडा नं. ३ दुलेगौँडा बजारमा तत्कालिन दुलेगौँडा, खैरेनीटार, ढोरफिर्दी, भिमाद र छाङ्ग ५ गा.वि.स. लाई आफ्नो कार्यक्षेत्र निर्धारण गरी यस क्षेत्रका सर्वसाधारण उपभोक्ताको वित्तिय आवश्यकतालाई मध्यनजर गर्दै उपभोक्ताको दीगो आर्थिक एवम् सामाजिक विकासका लागि पारस्परिक सहयोग, गरीबी, न्यून आय र विपन्न वर्गको जीवनस्तर माथि उठाउने उद्देश्यका साथ स्थानीय समाजसेवी, बुद्धिजिवी, उद्योगी तथा व्यापारीहरूको सहभागितामा वि.सं. २०६३ साल पौष १७ गते यस “श्री शुभकामना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड” को विधिवत उद्घाटन तत्कालीन राष्ट्रिय सहकारी संघका अध्यक्ष श्री हरिवोल भट्टराईबाट सम्पन्न भएको थियो । प्रारम्भमा ३२ जना शेयर सदस्यहरू मार्फत ९६ लाख रूपैयाँ चुक्ता पुँजीबाट संचालित यस संस्थाले विगत १० वर्षको दौरानमा बैकिङ्ग पहुँच नपुगेका समूहमा वित्तिय सहकारीको खाँचो पूरा गर्ने र धनी र गरीब विचको खाडललाई कम गर्ने उद्देश्य अनुरूप आफ्ना सेवा क्षेत्रका सेवाग्राहीहरूको सुविधालाई मध्य नजर गर्दै २ वटा गा.वि.स. मनपाङ्ग र जामुनेलाई समेत आफ्नो कार्य क्षेत्र थप गरी हाल खैरेनीटार र ढोरफिर्दीको गणपति बजारमा समेत सेवा काउण्टर संचालनमा ल्याई सेवा प्रदान गर्दै आएको छ ।
संस्थाले आफ्नो कारोवारलाई वृद्धि गर्दै जाने नीति अनुरूप चुक्ता पुँजीमा क्रमशः वृद्धिगरी हाल रु. ५,१९,६८,५००।– पु¥याई करिब ४२ करोड रूपैयाँको कारोवार गर्न सफल भएको छ भने गत आ.व. मा मात्र संस्थाले आयकर वापत रु. २२,२७,६८४।– र अन्य कर समेत गरी जम्मा रु. ३५,९३,९१९।३० राज्यको ढिकुटीमा दाखिला गर्न सफल भएको छ । देशको कूल वित्तिय पुँजीको २०% र कूल ग्राहस्थ उत्पादनमा ४% योगदान गर्न सफल सहकारीले लगानीलाई विविधिकरण गर्दै लैजानु पर्ने आवश्यकता महसुस गरेको छ । सहकारीको मूल नारा “आर्थिक विकास र सामाजिक रूपान्तरणका लागि सहकारी” लाई आत्मसात् गर्दै संस्थाले वचत तथा ऋणको अलावा राष्ट्रिय सहकारी नीति निर्माण गरी उत्पादनशील क्षेत्र, कृषि, पशुपालन, हाईड्रोपावर, पर्यटन, वीमा लगायत अन्य क्षेत्रमा लगानी गर्न पाउनु पर्ने आवश्यकता महसुस भएको छ । यस्ता उत्पादनशील कार्यक्रममा लगानी गर्दै जाने परिपाटीको विकासले शेयर सदस्यहरूको आर्थिक जीवन स्तर माथि उठाउनुका साथै संस्थाले दिने मुनाफामा समेत वृद्धि हुँदै जानेछ । यस्ता कार्यक्रमको सफलताका लागि राज्यका तर्फबाट स्पष्ट नीति र नियमहरूको व्यवस्था गरी कार्यान्वयनको पक्षमा जानु पर्ने देखिन्छ । त्यसै गरी सहकारीले तिरेको करको समेत समुचित उपयोगका साथ सफल सहकारीहरूलाई अनुदानको व्यवस्था गरिनु उपयुक्त देखिन्छ ।
संस्था स्थापनाको एक दशकको अवधिमा यस संस्थाले “वहु उद्देश्यीय कार्यक्रम” अन्तरगत संस्थाकै नाउँमा तनहुँ शु.न.पा.–३, दुलेगौँडा बजारमा जग्गा खरीद गरी उक्त जग्गामा “शुभकामना कम्पलेक्स” को निर्माण गरी व्यवसायिक प्रयोजनको शटरहरू र सुविधा सम्पन्न सभाहलको समेत व्यवस्था गरी संचालनमा ल्याएको छ ।

त्यस्तै संस्थाले आफ्नो “सामाजिक उत्तरदायित्व” अन्तरगत आफ्नो कार्यक्षेत्रभित्र विभिन्न सामाजिक, आर्थिक एवम् साँस्कृतिक क्षेत्रमा समेत योगदानहरू दिँदै आएको छ । यस क्रममा प्रसिद्ध ढोरवाराही मन्दिर जाने बाटोमा प्रवेशद्वार निर्माण, पर्यटकीय क्षेत्र भुजीकोटको टावर निर्माणमा आर्थिक सहयोगका साथै विभिन्न महोत्सव तथा प्रतियोगितामा सहयोग तथा अन्य क्षेत्रमा समेत आर्थिक सहयोग उपलव्ध गराउँदै आएको छ ।
संस्थाले “शेयर सदस्य लक्षित कार्यक्रम” अन्तरगत बेला बेलामा उत्कृष्ट सहकारीहरूको अवलोकन भ्रमण सिपमूलक तालिम, आधारभूत तथा अभिमुखीकरण तालिम, सहकारीसँग सम्बन्धित जनचेतनामूलक गोष्ठी तथा अन्तरक्रिया कार्यक्रमहरूका साथै कर्मचारीहरूलाई क्षमता अभिवृद्धि सम्बन्धी तालिमहरू संचालन गर्दै आएको छ । यसै कार्यक्रम अन्तरगत जेष्ठ शेयर सदस्य सम्मान, एकल नारी सम्ममा, शुभकामना छात्रवृत्ति लगायत उत्कृष्ट कृषक तथा समूहलाई समेत नगद पुरस्कारहरूका साथ सम्मान गर्दै आएको व्यहोरा अवगत गराउँछ । यस्ता कार्यक्रमहरूलाई आगामी दिनमा अझ प्रभावकारी रूपमा वृद्धि गर्दै जाने योजना रहेको छ ।
संस्थाले आफ्नो शेयर सदस्य तथा सेवाग्राहीहरूलाई आधुनिक प्रविधिको प्रयोग गरी सर्वसुलभ तरिकाबाट वित्तिय सेवा उपलव्ध गराउने, छिटो छरितो तरिकाबाट विप्रेषण सेवा मार्फत भुक्तानी गर्दै आएको छ । संस्थालाई अझ व्यापक र विस्तारित भई सदस्यहरूको सुविधाका लागि क्ःक् सेवा संचालन गरि आएको छ र संस्थाको अधिकृत पुँजी तथा चुक्ता पुँजीमा क्रमशः वृद्धि गर्दै जाने र कार्य क्षेत्र जिल्लाभर विस्तार गर्ने योजना समेत रहेको छ ।
अन्त्यमा हाम्रो विगत १० वर्षको अवधिमा संस्थाको सफलताको लागि महत्वपूर्ण सल्लाह र सुझावहरू प्रदान गर्नु हुने सल्लाहकार समय–समयमा अनुगमन गरी संस्थालाई सही बाटोमा हिँडाउन मार्ग निर्देश गर्नु हुने नियमनकारी निकायहरू संस्थाको १० वर्ष पूरा भएको अवसरमा प्रकाशन गर्न लागिएको स्मारिका प्रकाशन उप–समितिका संयोजक एवम् सदस्यहरू, स्थापनाकाल देखि हालसम्म विभिन्न समिति तथा उप–समितिमा रहेर अहोरात्र खट्नु हुने पदाधिकारी तथा सदस्यहरू, हाम्रो संस्थामा आई कारोवारमा सहभागी हुनु हुने आदरणीय शेयर सदस्य तथा सेवाग्राहीहरू र सम्पूर्ण कर्मचारीहरूमा म संस्थाको अध्यक्षको तर्फबाट यहाँहरूले गरेको योगदानको उच्च मूल्याङ्कन गर्दै हार्दिक कृतज्ञता व्यक्त गर्दछु र आगामी दिनमा पनि यहाँहरूको सहयोगको अपेक्षा सहित संस्थाको सफलताको कामना गर्दछु ।
धन्यवाद ! जय सहकारी !

मूर्तिमङ्गल रिमाल
प्रबन्धक
शुभकामना बहुउद्देश्यीय सहकारी संस्था लि.

२०६३ साल कार्तिक २१ गते डिंभिजन सहकारी कार्यालय पोखरामा दर्ता भई पौष १७ (जनवरी १) गते बिधिवत रूपमा उद्घाटन भएको यस शुभकामना बहुउद्धेश्यीय सहकारी सँस्था लिमिटेडको स्थापना ३२ जना शेयर सदस्यहरूको ९६ लाख रूपैयाँ पूँजीबाट भएको थियो । साविक दुलेगौंडा, खैरेनीटार, ढोरफिर्दी,मनपाङ र छाङ गा.वि.स.हरूलाई आफ्नो कार्यक्षेत्र बनाई आफ्नो कारोवार शुरू गरेको यस संस्था यस क्षेत्रका बासिन्दाहरूको लागि वित्तिय कारोवार गर्न सिकाउने पहिलो पाठशालाको रूपमा उदय भएको हो । यसैले देखाएको बाटो पछ्याउँदै हाल आएर यस क्षेत्रमा थुप्रै बैंक तथा वित्तीय सँस्थाहरू स्थापना भै सकेका छन् ।

संस्था आफ्नो स्थापनाको बाह्रौं बर्ष प्रवेश गर्दै गर्दा आफ्नो कार्य क्षेत्र शुक्ला गण्डकी नगरपालिका, भिमाद नगरपालिका र म्याग्दे गाउँपालिकाका ५००० भन्दा बढी शेयर सदस्यहरूसँग कारोवार गरिरहेको छ भने राज्यको नजरमा आ.ब. २०७२/०७३ मा तनहूं जिल्लामा सवैभन्दा बढी आयकर बुझाई उत्कृष्ट करदाताको रूपमा आफुलाई उभ्याउन सफल भएको छ । सदस्यहरूको बचतमा समय सापेक्ष उच्च ब्याजदर, सरल ब्याजदरमा गुणस्तरीय कर्जा, छिटो छरितो रूपमा रिमिट्यान्स सेवा प्रदान गर्दै आएको यस सँस्थाको मुल उद्धेश्य भनेको नै सदस्यहरूको हित र आर्थिक समृद्धि मार्फत सन्तुष्टि प्रदान गर्नु हो ।

सँस्थाको सामाजिक छवीलाई उत्कृष्ट राख्नको लागि प्रत्येक बर्ष समाजमा देखिने गरी कुनै एक सामाजिक कार्य गर्दै आएको यस सँस्थाले ढोरफिर्दि पाटनमा ढोरबराही मन्दिर जाने बाटोमा प्रबेशद्धारको निर्माण, भुजीकोट भ्यु टावरको लागि आर्थिक सहयोग, पञ्चमुनीदेव उ.मा.वि.को लागि आर्थिक सहयोग, मुक्तिनाथ च्यावनधामको लागि आर्थिक सहयोग, शुक्लेश्वर धर्मिक क्षेत्र शवदाह सँस्कार घाटको लागि आर्थिक सहयोग, भुकम्प पिडितहरूको सहयोगार्थ प्रधानमन्त्री दैवीप्रकोप उद्दार राहात कोषमा १,११,१११/-रकम सहयोग, दुलेगौंडा शिव मन्दिरको प्रवेशद्धार निर्माण र यस्तै बिभिन्न वर्ग तथा समुदायले समाजमा सञ्चालन गर्ने गरेका सामाजिक, शैक्षिक, धार्मिक, आदि थुप्रै कार्यक्रमहरूमा आर्थिक तथा भौतिक सहयोग गर्दै आएको छ ।

“सन्तुष्ट सदस्य, हाम्रो भविष्य” भन्ने मुल मन्त्रका साथ अघि बढिरहेको यस संस्थाले देशको आर्थिक समृद्धिको लक्ष्यमा टेवा पुर्याउने अभिप्रायले आफ्नो कारोबारलाई बिपन्न समुदाय सम्म पुर्याउन उत्पादन र कृषि पर्यटनमा लगानी गर्नको लागि पुर्बाधार तयार पारिरहेको छ । संभवत आगामी बर्षसम्ममा उत्पादन एवं कृषि पर्यटनसँग सम्वन्धित सँस्थाको लगानी मार्फत कुनै एक व्यवसाय आउने छ । यसरी नै क्षेत्रगत रूपमा स्वयत्त सेवा केन्द्रहरूको बिकास र घरदैलोमा शुभकामनाको नीति अख्तियार गरिंदैछ ।

अन्तमा, सँस्थालाई कुशल नेतत्व प्रदान गरी यो स्थिति सम्म ल्याउन महत्वपुर्ण योगदान पुर्याउने निबर्तमान एवं बर्तमान कार्यसमितिका पदाधिकारी एवं सदस्यज्यूहरू, सल्लाहकारज्यूहरू,बिभिन्न उपसमितिका संयोजक एवं सदस्यज्यूहरू, सम्पुर्ण कर्मचारी साथीहरू, नियमनकारी निकाय मुलत: डिभिजन सहकारी कार्यालयका प्रमुख एवं कर्मचारी मित्रहरू र संस्थासँग आवद्ध भई दैनिक कारोवारमा सहभागी संपुर्ण शेयर सदस्यज्यूहरूमा हार्दिक धन्यवादका साथ सदैव रचनात्मक सहयोग र सल्लाहको अपेक्षा गर्दछु।